२५ भदौ, बाँके। बाँकेको नौबस्तामा रहेको बाल सुधारगृहमा गए राति भएको तनावपूर्ण झडपमा पाँच जना किशोरको दुःखद मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
यो घटनालाई देशभर चलिरहेको जेनजी आन्दोलनसँग जोडेर हेरिएको छ, जसले सुधारगृहभित्रको अवस्थालाई थप जटिल बनाएको छ।
के थियो घटना ?
गए राति सुधारगृहमा रहेका केही किशोरहरू आन्दोलनको आडमा भाग्ने प्रयास गरेपछि अवस्था बिग्रिएको थियो। प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्दा दुई पक्षबीच ठूलो झडप भएको थियो। यस क्रममा पाँच जना किशोरको ज्यान गएको छ। उनीहरूलाई तत्काल नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा ज्यान गएको सुरक्षा स्रोतले पुष्टि गरेको छ।
मृत्यु हुनेहरू को-को हुन्
झडपमा ज्यान गुमाउनेहरूमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्। यस घटनाले सुधारगृहभित्रको व्यवस्थापन र सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। घाइते भएका दुई जनाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ।
भागेकाहरूको खोजी जारी
घटनापछि केही किशोरहरू भाग्न सफल भएको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। सुधारगृहभित्र अझै पनि केही किशोरहरू रहेका छन् । यो घटनाले जेनजीको आन्दोलनले देशभर कस्तो प्रभाव पारिरहेको छ भन्ने पनि देखाउँछ। प्रशासनले यस घटनाको छानबिन गरिरहेको र थप जानकारी दिने बताएको छ।

















