२५ भदौ, वीरगञ्ज । हालैको अशान्त वातावरणपछि वीरगञ्जको सुरक्षा अवस्था थप कडा बनाइएको छ। मुख्य सडकदेखि गल्ली–गल्लीसम्म नेपाली सेनासहित ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिएको छ।
सुरक्षाकर्मीहरूले सर्वसाधारण र व्यापारीहरूलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । दैनिक हिँडडुल गर्ने यात्रु, पसल र व्यवसायिक गतिविधिमा समेत निगरानी बढाइएको छ।
नेपाली सेनाले अवाञ्छित गतिविधि वा शंकास्पद हर्कत देखिएमा तत्काल नजिकैको सुरक्षा निकायलाई खबर गर्न स्थानीयवासीलाई अनुरोध गरेको छ।
सुरक्षा स्रोतका अनुसार परिस्थिति नियन्त्रणमै राख्न निरन्तर गस्ती भइरहेको छ भने सहरका संवेदनशील क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ।















