२५ भदौ, काठमाडौँ । राजधानी काठमाडौँका विभिन्न स्थानमा लुटपाटमा संलग्न समूह हतियारसहित सक्रिय भएको पाइएको छ। पछिल्ला केही घटनामा उनीहरूले सुरक्षाकर्मीमाथि गोली प्रहारसमेत गरेका छन् भने केही स्थानमा दोहोरो गोली हानाहानको अवस्था सिर्जना भएको छ।
सुरक्षा अवस्था तनावग्रस्त बनेपछि नेपाली सेनाले केही क्षेत्रमा कारबाही सुरु गरेको छ। यसै क्रममा काठमाडौँको टुसालमा भएको फायरिङपछि सेनाले जवाफी कारबाही गरी स्थितिलाई नियन्त्रणमा लिएको र घटनास्थलबाट हतियार बरामद गरेको छ। अन्य केही स्थानमा पनि सेनाले गोली प्रहार गरी हतियारधारीहरूलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ।
सुरक्षा स्रोतका अनुसार, प्रदर्शन र लुटपाटका घटनाहरूमा पेस्तोल, गोली र पकेट बमजस्ता हतियार प्रयोग भएको देखिएको छ। बरामद भएका केही हतियार प्रहरीबाटै लुटिएको हुन सक्ने अनुमान गरिएको छ भने कतिपय हतियार प्रहरीले प्रयोग नै नगर्ने किसिमका भेटिएका छन्, जसले घटनाको गम्भीरतालाई थप उजागर गरेको छ।
यसैबीच, प्रदर्शनकारीहरूले केही ठाउँमा बम विस्फोटसमेत गराएका छन्, जसले गर्दा राजधानीको सुरक्षा व्यवस्था थप चुनौतीपूर्ण बनेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा निकायले जनाएको छ।















