२५ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भदौ २३ गते भएको घटनाले मुलुकलाई नियन्त्रित अस्थिरतातर्फ धकेलेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै जेनजी पुस्ताको आन्दोलनपछि विकसित अवस्थाबारे आफ्नो धारणा राखेका छन् ।
पुस्ताको नालायकी र सरकारको बर्बरता
भुसालले आफ्नो पुस्ताको असफलताप्रति लज्जित हुँदै माफी मागेका छन्। उनले निर्दोष युवाहरूमाथि सरकारले गरेको बर्बर आक्रमणलाई राक्षसी संज्ञा दिएका छन्। भुसालको विश्लेषणअनुसार, सरकारले गरेको नरसंहार र प्रधानमन्त्री ओलीको अक्षमतालाई बहाना बनाएर देशभर सार्वजनिक सम्पत्तिमा भएको आक्रमण र तोडफोड केवल जनताको आक्रोश मात्र नभएर नियोजित भएको हुनसक्छ।
राष्ट्रिय क्षति र नयाँ उथलपुथल
भुसालले यो घटनाले महाभूकम्प र भारतको नाकाबन्दीजस्तै खर्बौंको राष्ट्रिय सम्पत्तिमा क्षति पुगेको उल्लेख गरेका छन्। उनले भदौ २३ गतेको नरसंहारले मुलुकलाई फेरि अर्को चरणको (नियन्त्रित अस्थिरता) तर्फ धकेलेको दाबी गरेका छन्। उनले नेपाल अब उथलपुथलको नयाँ शृङ्खलामा प्रवेश गरेको र पर्दा पछाडिका शक्तिहरूले नेपाललाई युक्रेन, लिबिया वा बंगलादेश बनाउने प्रयास गर्न सक्ने चेतावनी दिएका छन्।
नेतृत्वको अभाव र आत्ममूल्याङ्कन
भुसालले लोकतान्त्रिक स्थिरता र समृद्धिको आकाङ्क्षा बोक्न सक्ने योग्य नेतृत्वको अभाव भएको बताएका छन्। उनले विगतमा राजनीतिक पार्टीहरूमा देखिएको दलाल पुँजीवादसँगको गठजोडले लोकतन्त्रलाई कमजोर बनाएको भन्दै आफ्नो राजनीतिक जीवनको अनुभव सुनाएका छन्।
अन्तमा, उनले युवा पुस्ता (जेनजी) लाई आफ्नो आन्दोलनलाई अरूले दुरुपयोग गर्नबाट जोगिन आग्रह गर्दै आफ्नो पुस्ताको नालायकीप्रति फेरि एकपटक माफी मागेका छन्।


















