२५ भदौ, रौतहट । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले यादवलाई बुधबार दिउँसो मलंगवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो। प्रहरीले यादवमाथि प्रहरी उपरीक्षक (एसपी) लाई गालीगलौज गरेको, आपराधिक उपद्रव तथा राज्यविरुद्धको अपराधमा संलग्न भएको आरोप लगाएको छ।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार, यादवले सर्लाहीका प्रहरी प्रमुखसँग फोनमा गालीगलौज गरेको अडियो केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
उक्त अडियो असारको अन्तिम सातामा मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा भएको भुक्तानी विवादसँग सम्बन्धित रहेको र सोही क्रममा यादवले प्रहरी प्रमुखमाथि अभद्र भाषा प्रयोग गरेका थिए। सो घटना पछि फरार रहेका यादवलाई प्रहरीले आज पक्राउ गरेको हो।
प्रवक्ता राईका अनुसार, यादवलाई पक्राउ गरी अब थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।















