Logo

२५ भदौ, काठमाडौं । जेन–जी नेतृत्वको आन्दोलनका क्रममा हराएका वा लुटिएका हातहतियार, गोलीबारुद तथा सुरक्षा सामग्री तत्काल बुझाउन नेपाली सेनाले आग्रह गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सेनाले ती सामग्री सेनामा वा सम्बन्धित सुरक्षाकर्मीहरूलाई बुझाउन अनुरोध गरेको हो। सेनाले हातहतियार तथा गोलीगट्ठा जस्ता संवेदनशील सामग्रीको दुरुपयोग हुन सक्ने भन्दै त्यसले जनधनमा गम्भीर क्षति पु¥याउने सम्भावना रहेको चेतावनी दिएको छ।

विज्ञप्तिमा उल्लेख छः
‘ती हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुन सक्ने भएकाले प्राप्त गर्ने व्यक्तिहरुले नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन र तत्काल बुझाउन अनुरोध गरिन्छ।’

साथै, सेनाले यस्तो संवेदनशील समयमा सुरक्षाकर्मीहरूको पोशाक (युनिफर्म) को अनधिकृत प्रयोग नगर्न पनि सबैलाई सचेत गराएको छ।

सेनाले थप चेतावनी दिँदै भनेको छ, ‘उक्त हातहतियार वा गोलीबारुद नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही हुनेछ।’

जेन–जी आन्दोलनका क्रममा हालसम्म केही स्थानबाट सुरक्षाकर्मीहरूमाथि आक्रमण गरी हातहतियार लुटिएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा सेनाको यो आग्रहलाई अत्यन्त संवेदनशील र गम्भीर चेतावनीको रूपमा लिइएको छ।


सम्बन्धित समाचार
भर्खरै