Logo

२५ भदौ,बाँके । बाँकेको बैजनाथ गाउँपालिका–५ नौबस्तास्थित बाल सुधारगृहबाट भाग्ने प्रयासमा पाँच बालबन्दीको ज्यान गएको छ।

बाल सुधारगृहसँगै रहेको क्षेत्रीय कारागारको गेटबाट हिजो राति करिब १० देखि ११ बजेको बीचमा बालबन्दीहरू भाग्ने प्रयास गर्दा प्रहरीको गोली चल्दा घटना भएको हो। बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाका अनुसार, उक्त गोलीप्रहारमा पाँच बालबन्दीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

“रातिको समयमा बालकहरू कारागारको गेटबाट भाग्न खोज्दा सुरक्षाकर्मीले हवाई फायर गरेर नियन्त्रणमा लिन खोज्दा घटना भयो,” प्रमुख रानाले जानकारी दिए।

उनका अनुसार बाल सुधारगृहमा रहेका अधिकांश बालबन्दीहरू जेन–जी आन्दोलनसँग सम्बन्धित पृष्ठभूमिका रहेका छन्। यसै कारण उनीहरू क्षेत्रीय कारागारका कैदीहरू सँग मिलेर योजनाबद्ध तरिकाले भाग्ने प्रयासमा थिए।

घटनापछि क्षेत्रीय कारागारबाट १४९ जना कैदीबन्दी र बाल सुधारगृहबाट ७९ जना बालबन्दी भागेका छन्। तर, बाल सुधारगृहमा हालसम्म ९० जना सकुशल अवस्थामा रहेका छन्।

भागेका बालकहरूलाई फिर्ता ल्याउन अभिभावकहरूलाई सम्पर्क गर्न सुरु गरिएको र केही बालकहरू आफैं सम्पर्कमा आउन थालेको प्रमुख रानाले बताए।

बाल सुधारगृहमा कुल १७६ बालबन्दी र क्षेत्रीय कारागारमा ५८० भन्दा बढी कैदीबन्दी रहेका थिए।

स्थिति नियन्त्रणमा लिनका लागि अहिले प्रहरी र सुरक्षाकर्मीहरू उच्च सतर्कतामा छन्।बीबीसी नेपाली


सम्बन्धित समाचार
भर्खरै