२५ भदौ, काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरू पुगेका छन् ।
सोमबार र मंगलबारको तनावपूर्ण परिस्थितिपछि राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेअनुरूप उनीहरू बुधबार सैनिक मुख्यालय पुगेका हुन् । सैनिक स्रोतका अनुसार, करिब १५(१६ जनाको संख्यामा आएका जेनजी प्रतिनिधिले सुरुमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेका थिए । तर, धेरै प्रतिनिधिहरू उपस्थित भएपछि प्रधानसेनापति सिग्देलले पहिले सबैलाई मिलेर एकमत भई आउन आग्रह गरेका छन् ।
प्रधानसेनापतिसँगको भेटपछि जेनजी प्रतिनिधिहरू अहिले जंगीअड्डाभित्रै छुट्टै छलफलमा जुटेका छन् । उनीहरूलाई वार्ताका लागि एकजना संयोजक तोक्न पनि भनिएको छ।
सेनाको संयोजनमा वार्ताको पहल
राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेर जेनजी प्रदर्शनकारीलाई वार्तामा आउन आग्रह गरेको थियो। यसपछि नेपाली सेनाले पनि विज्ञप्ति जारी गर्दै संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो ।
सैनिक स्रोतका अनुसार, राष्ट्रपति पौडेलको विज्ञप्ति पनि सेनाको सुझावमा आएको थियो। सेनाको अगुवाइमा भएको चारवटै सुरक्षा प्रमुखको बैठकले राष्ट्रपतिले वार्ताको अगुवाइ गर्नुपर्ने निष्कर्ष निकालेको थियो। त्यसपछि नै राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको हो।
हाल जेनजीका प्रतिनिधि धेरै संख्यामा हुँदा र अन्य समूहहरूले पनि आफूहरूको कुरा सुन्नुपर्ने बताइरहेकाले सेनालाई संयोजन गर्न कठिनाइ भएको छ। गए राति पनि प्रधानसेनापति सिग्देलसँग केही जेनजी प्रतिनिधिले प्रारम्भिक भेटघाट गरेका थिए।
यो पनि उल्लेखनीय छ कि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले फेसबुकमार्फत जेनजी युवालाई नेपाली सेनाका प्रमुखसँग वार्ता गर्न तयार रहन भनेका थिए, यद्यपि उनले संसद विघटनको शर्त पनि राखेका थिए ।
सोमबारको प्रदर्शनमा प्रहरीको बल प्रयोगका कारण कम्तिमा १९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए। मंगलबार प्रदर्शनकारीले कर्फ्यू तोडेर संसद भवनमा प्रवेश गरी आगजनीसमेत गरेका थिए।

















