Logo

२५ भदौ, विराटनगर । मोरङ जिल्ला कारागारमा कैदीबन्दीहरू छुटाउन पुगेको समूह र कारागारभित्रका कैदीहरूबीच समन्वयमा भाग्ने प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको छ।

प्रहरीका अनुसार बुधबार अपराह्न एक समूह “रवि लामिछाने छुटे जस्तै यहाँका कैदीबन्दी पनि छुट्नुपर्ने” मागसहित कारागार परिसरमा पुगेको थियो। सो समूहको साथ र समर्थनमा कैदीबन्दीहरूले समेत भाग्ने प्रयास गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। गोली चलेपछि प्रदर्शनकारी समूह तितरबितर भएको छ।

प्रहरीका अनुसार भिड नियन्त्रणमा आएपछि नेपाली सेनाको टोली पनि घटनास्थलमा परिचालित गरिएको छ। सेनाको उपस्थितिपछि कारागारको अवस्था सामान्य रहेको र अहिले कडा सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ।

यसअघि देशका विभिन्न कारागारहरूमा जेन–जी आन्दोलनका कारण भाग्ने वा भागाउने प्रयासहरू भइरहँदा मोरङ कारागारमा पनि यस्तै गतिविधि दोहोरिएको हो।

प्रहरीले घटनाको थप अनुसन्धान थालेको जनाएको छ भने सम्भावित सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै कारागार परिसरमा सुरक्षाकर्मीहरूको संख्या बढाइएको छ।


सम्बन्धित समाचार