Logo

२४ भदौ, काठमाडौं । जेन जी आन्दोलनको क्रममा हिजो कालिमाटीमा प्रहरीले चलाएको गोलीबाट अर्का एक व्यक्ति, ३० वर्षीय देवकुमार सुवेदीको पनि निधन भएको छ ।

उनको आज बिहान निधन भएको हो, जससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। उदयपुर घर भएका सुवेदीलाई हिजो दिउँसो करिब २ बजेको समयमा प्रदर्शन चर्किरहेका बेला गोली लागेको थियो। पेटमा लागेको गोलीले आन्द्रा बाहिर निस्केको थियो। उनलाई तत्कालै बयोदा अस्पताल पुर्‍याइए पनि अत्यधिक रक्तस्रावका कारण आज बिहान ९ बजे उनको निधन भएको उनका जेठान मनिष बास्तोलाले जानकारी दिए।

सुवेदी सडक विभागमा सुरक्षा गार्डको रूपमा काम गर्थे । उनी देश बर्बाद हुँदैछ, केही बोल्नुपर्छ भन्दै आन्दोलनमा होमिदा प्रहरीको गोली लागेर ज्यान गएको जेठान मनिषले बताए

उनको निधनले परिवारलाई ठूलो पीडा दिएको छ। सोही घटनामा घाइते भएका अर्जुन भट्ट र दिपक साउदको पनि हिजो राति नै निधन भइसकेको अस्पतालले जनाएको छ। अर्जुनलाई अस्पताल पुर्‍याउँदा नै मृत घोषित गरिएको थियो भने दिपकको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

हिजो कालिमाटी पुल नजिकै प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो, जसले गर्दा यी दुःखद घटनाहरू हुन पुगे।


सम्बन्धित समाचार