२५ भदौ, काठमाडौं । मंगलबारको प्रदर्शनका क्रममा देशभरका १७ वटा अदालतमा आगजनी र तोडफोडका कारण क्षति पुगेको छ।
सर्वोच्च अदालत प्रशासनले दिएको जानकारीअनुसार, तीमध्ये १० वटा जिल्ला अदालतमा आगजनी भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जन कोइरालाका अनुसार “सर्वोच्चमा १० प्रतिशत फाइल बाहेक चालु अवस्थामा रहेका सबै फाइल जलेर खरानी भएका छन् ।” आगजनीबाट प्रभावित भएका जिल्ला अदालतहरूमा काठमाडौँ, चितवन, कास्की, सप्तरी, बाँके, रुपन्देही, पर्सा, मकवानपुर र कपिलवस्तु रहेका छन् ।
यसका साथै, उच्च अदालत तुलसीपुर बुटवल इजलास, उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरको अस्थायी इजलास, उच्च अदालत राजविराज र उच्च अदालत हेटौँडा लगायतमा पनि तोडफोड र आगजनी भएको छ। हाल क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ।

















