Logo

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले देशमा भएको हिंसा र अराजकताप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयम, संवाद र एकतामार्फत मात्रै समाधान सम्भव रहेको बताएका छन् ।

उनीहरूले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवालाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।

कांग्रेसको अडान र माग

विज्ञप्तिमा, प्रधानमन्त्रीले सुरु गरेको संवाद पहलको स्वागत गर्दै महामन्त्रीद्वयले सबै पक्षलाई संवैधानिक बाटोबाट बाहिर नजान आग्रह गरेका छन्। उनीहरूले आन्दोलनमा अत्यधिक बल प्रयोग गर्ने दोषीहरूमाथि छानबिन गरी कारबाही गर्न र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने समूहलाई पनि कानूनी दायरामा ल्याउन माग गरेका छन्।

आत्मआलोचना र युवालाई प्रतिबद्धता

महामन्त्रीद्वयले विगतमा कांग्रेसले जनअपेक्षा अनुसार काम गर्न नसकेको र भ्रष्टाचार नियन्त्रणमा असफल भएको भन्दै आत्मआलोचना गरेका छन्। उनीहरूले अब युवा पुस्ताको आकांक्षा अनुरूप जिम्मेवार राजनीति गर्ने प्रतिबद्धता जनाएका छन्।

कांग्रेसले पटक-पटक संकटको सामना गरेको उल्लेख गर्दै उनीहरूले भने, नेपाली कांग्रेस धेरै पटक अनेकौँ आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि बढेको हो। उनीहरूले पार्टी सदस्य र शुभचिन्तकहरूलाई विचलित नभई एकताबद्ध रहन पनि आग्रह गरेका छन्।


सम्बन्धित समाचार