२६ भदौ, काठमाडौं । रामेछाप कारागारमा आज बिहान कैदीहरूले जेल तोडेर भाग्ने प्रयास गरेपछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको ज्यान गएको छ।
यस घटनामा थप एक जना गम्भीर र १० जना सामान्य घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार, बिहीबार बिहान करिब ३३४ कैदीबन्दीमध्ये केहीले ताला तोडेर जेलबाट बाहिर निस्कने प्रयास गरेका थिए। उनीहरूलाई सम्झाउँदा र चेतावनी दिँदा पनि नमानेपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउनुपरेको थियो।
घाइते भएकाहरूको रामेछाप अस्पतालमा उपचार भइरहेको छ। अहिले कारागारको अवस्था पूर्णरूपमा नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको प्रशासनले जानकारी दिएको छ।
रामेछाप कारागारमा १६ महिला र ३१८ पुरुष गरी कुल ३३४ जना कैदीबन्दी थिए। यस घटनाले जेल सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।

















