२६ भदौ, वीरगञ्ज । बारामा जारी गरिएको कर्फ्यू आजदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाराले भदौ २६ गते बिहान ६ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश फिर्ता लिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार भदौ २४ गतेदेखि सुरक्षागत कारणले लगाइएको कर्फ्यू अब आवश्यक नरहेको ठहर गर्दै हटाइएको हो ।
जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले पहिलो पटक भदौ २४ गते दिउँसो २ बजेदेखि राति ८ बजेसम्म कलैया र जीतपुरसिमरा उपमहानगर क्षेत्रमा कर्फ्यू जारी गरेको थियो। त्यसपछि स्थिति थप संवेदनशील बनेपछि भदौ २५ गते बिहान ६ बजेदेखि जिल्लाभर नै कर्फ्यू लगाइएको थियो। सो दिनदेखि नै सेनासमेत सडकमा परिचालन गरिएको थियो।
प्रशासनले आज सूचना जारी गर्दै जिल्लामा निषेधाज्ञा वा कर्फ्यू आदेश कायम नरहेको स्पष्ट पारेको छ। तर, जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने नागरिकता लगायतका सम्पूर्ण सेवाहरू अहिलेको लागि बन्द रहने जनाइएको छ।















