२६ भदौ,जिराभवानी । पर्साको जिराभवानी गाउँपालिका–४, सुपौलीका युवा तथा स्थानीय नागरिकहरूले सार्वजनिक र निजी सम्पत्तिको सुरक्षाका लागि आफैँ पहल थालेका छन्। हालै ‘जेन जी’ समूहको नाममा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दाहरू सतर्क बनेका हुन्।
सुपौलीका युवाहरूले लाठी-भाटासहित बिहानैदेखि सुपौली बजारको चोकमा गस्ती सुरु गरेका छन्। उनीहरूले इलाका प्रशासन कार्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालयजस्ता संरचनाहरूको सुरक्षामा ध्यान दिएका छन्। यो अभियान समुदायको अग्रसरतामा चलाइएको हो र यसले सार्वजनिक सम्पत्ति जोगाउने जिम्मेवारी अब नागरिक आफैँले लिनुपर्ने अवस्था आएको देखाएको छ।
अन्तरिम सरकार गठनका लागि वार्ता चलिरहेका बेला पर्साका विभिन्न स्थानमा गाउँपालिका, वडा कार्यालय र जनप्रतिनिधिका घरमा आक्रमणका घटनाहरू बढेका छन्। यस्ता घटनाले ग्रामीण क्षेत्रमा सुरक्षाको चुनौती थपिएको छ र नागरिकहरूलाई आफ्नै सम्पत्ति जोगाउन बाध्य बनाएको छ। यसबाट नागरिक सचेतना र सक्रियताको आवश्यकता झन् बढेको छ।















