२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान परिस्थितिलाई समाधान गर्न संविधानको दायराभित्र रहेर अगाडि बढ्नुपर्ने बताएका छन्।
बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले संविधान बाहिर गएर गरिने कुनै पनि कदमले स्थिति झन् भयावह बनाउन सक्ने चेतावनी दिए ।
जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै थापाले यस किसिमको ध्वंस अहिलेसम्मका आन्दोलनहरूमा नभएको उल्लेख गरे। उनले आन्दोलनमा घुसपैठ गरी तोडफोड र आगजनी गर्ने व्यक्तिहरूको पहिचान गरी कारबाही गर्नुपर्ने माग राखेका छन् ।
भ्रष्टाचार अन्त्य र सुशासनका लागि जेनजीले उठाएका मागहरूमा आफू प्रत्यक्ष संलग्न नभएकोमा क्षमा माग्दै, उनले भविष्यमा आफू सच्चिने प्रतिबद्धता व्यक्त गरे। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति आफ्नो असहमति रहेको र यसलाई रोक्न नसकेकोमा पनि उनले खेद प्रकट गरे।
उनले आफ्नो निवासमा भएको आगजनीको घटनाबारे बोल्दै, घर जलाउन आएकाहरू केही नयाँ पार्टीका मान्छे भएको र आफूले उनीहरूलाई चिन्ने बताए। उनले जेनजीको आन्दोलनमा कुनै घुसपैठ भएको दाबी गर्दै, असल जेनजीको उद्देश्य सार्वजनिक र निजी सम्पत्ति ध्वस्त पार्ने नभएको स्पष्ट पारे।

















