२६ भदौ,रौतहट । रौतहटको गौर कारागारबाट भागेका २६७ जना कैदीमध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति हुलहुज्जत गरेर भागेका उनीहरूलाई पुनः कारागार पठाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार ३५ जनालाई रौतहटमै विभिन्न स्थानबाट सुरक्षाकर्मीले पक्राउ गरेको हो भने १७ जनालाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा नियन्त्रणमा लिई रौतहट प्रशासनलाई बुझाएको छ।
फरार कैदीमध्ये २ जना महिला र बाँकी पुरुष छन्। प्रमुख जिल्ला अधिकारी विनोद खड्काले भागेका कैदीहरूका कारण अपराधका घटना बढ्न सक्ने भन्दै उनीहरूलाई आफ्नो गाउँठाउँमा देखेमा तत्काल प्रहरीलाई खबर गरिदिन सर्वसाधारणलाई अपील गरेका छन्। फरार कैदीहरूलाई खोजी गर्न सबै सुरक्षा निकाय परिचालन गरिएको पनि उनले बताए।
कुल २९१ जना कैदीबन्दी रहेको गौर कारागारमा २४ जनाबाहेक सबै कारागार तोडफोड गरी भागेका थिए। बाँकी रहेका कैदीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।















