२६ असोज, हेटौंडा । जेनजीहरूको आन्दोलनका क्रममा हेटौंडामा भएको तोडफोड र आगजनीपछि सडकमा थुप्रिएको फोहोर हटाउन पत्रकारहरू आफैं सरसफाइमा जुटेका छन्।
मकवानपुर जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूले आन्दोलनपछि हेटौंडा बजार क्षेत्रका विभिन्न स्थानमा रहेका जलेका टायर, प्लास्टिक, काठ लगायतका वस्तुहरू संकलन गरी हटाएका हुन्।
मंगलबार भएको आन्दोलनका क्रममा सरकारी कार्यालय, सडक र चोकहरूमा आगजनी र तोडफोड गरिँदा ठूलो परिमाणमा फोहोर जम्मा भएको थियो। उक्त फोहोरका कारण सर्वसाधारणको आवागमनमा समस्या देखिएपछि पत्रकारहरूले पहलस्वरूप सरसफाइ गरेका हुन्।
सफाइमा संलग्न पत्रकार पोष्टराज अधिकारीले भने, “सडकमा हिँड्नै नसक्ने अवस्था भएपछि हामी पत्रकारहरू मिलेर सफा गर्न निस्कियौं। पत्रकारिता हाम्रो पेशा हो, तर सामाजिक उत्तरदायित्व पनि हाम्रो कर्तव्य हो।”
हेटौंडा बागमती प्रदेशको राजधानीसमेत भएकाले यहाँ आन्दोलनको प्रभाव बढी परेको थियो। आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ।
स्थानीय नागरिकहरूले पत्रकारहरूको यो कार्यको प्रशंसा गरेका छन्। उनीहरूले सञ्चारकर्मीहरू केवल समाचार लेख्नमै सीमित नरही समाजप्रति सक्रिय भएर लाग्नु प्रेरणादायक भएको प्रतिक्रिया दिएका छन्।















