२६ भदौ, काठमाडौं । नेकपा एमालेले अहिलेको राजनीतिक संकटको समाधान संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने धारणा सार्वजनिक गरेको छ।
प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गरेका छन् । पोखरेलले सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। उनले संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएका छन्।
यस विषम परिस्थितिमा सङ्घीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
पोखरेलले संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान पनि गरेका छन्।















