Logo

२६ भदौ, काठमाडौं । राप्रपा नेपालले सबै नेपाली अटाउने गरी नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्नुपर्नेमा जोड दिएको छ।

अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गर्दै मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। थापाले भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका ‘जेनजी’ युवा पुस्तालाई धन्यवाद दिँदै उनीहरूले ऐतिहासिक परिवर्तनको ढोका खोलेको बताएका छन् । यद्यपि, उनले अहिलेको अवस्था अझै जटिल र तरल रहेको भन्दै संयम, संवाद र एकताको आवश्यकतामा जोड दिएका छन्।

युवाहरूलाई सचेत रहन आग्रह

कमल थापाले युवा पुस्ता अनुभवहीन रहेको भन्ने भ्रम फैलाउने र निहित स्वार्थ पूरा गर्न खोज्ने समूहबाट सतर्क रहन युवाहरूलाई आग्रह गरेका छन् । उनले इतिहासमा २५/३० वर्षका युवाहरूले नै ऐतिहासिक परिवर्तनको नेतृत्व गरेका धेरै उदाहरण रहेको उल्लेख गर्दै युवाहरूले चाहेमा अनुभव र ज्ञान भएका प्रौढहरूलाई सल्लाहकारको भूमिकामा राख्न सक्ने सुझाव दिएका छन्।

थापाले सरकारविहीनताको अवस्था जति लम्बियो, परिस्थिति त्यति नै जटिल बन्दै जाने चेतावनी दिँदै भ्रष्ट र अपराधीहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन्। यस तरल अवस्थामा देशी विदेशी शक्ति र स्वार्थ समूहले फाइदा उठाउन खोज्ने भएकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ।


सम्बन्धित समाचार