Logo

२६ भदौ,काठमाडौं । जेनजी आन्दोलनका कारण केही दिनदेखि अवरुद्ध हवाई सेवा आजदेखि आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ। भारतीय वायुसेवा कम्पनी इन्डिगोले बिहीबार नेपाल–भारतबीच यात्रु आवतजावत सहज बनाउन दुईवटा चार्टर उडान सहित छवटा उडान गर्ने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार इन्डिगोले नियमित चार उडानसँगै थप दुई विशेष (चार्टर) उडान राखेको हो। यी उडानहरू नेपालमा फसेका भारतीय नागरिक र भारतमा रहेका नेपालीहरूलाई सहयोग गर्नका लागि तय गरिएको जनाइएको छ।

नेपालमा सोमबारदेखि सुरु भएको जेन–जी आन्दोलनका कारण तीन दिनसम्म हवाई र स्थल यातायात प्रभावित भएको थियो। बुधबारदेखि मात्र हवाई सेवा पुनः सञ्चालनमा आएको हो भने सडक यातायात अझै पनि अवरुद्ध छ। यसैबीच नेपाल–भारत मैत्री बस सेवा पनि हालका लागि स्थगित गरिएको छ।

उता, भारतीय सेनाले सुरक्षा कारण देखाउँदै स्थलमार्ग हुँदै नेपालबाट भारत प्रवेशमा अस्थायी रोक लगाएको छ। यसले गर्दा सीमावर्ती नाकाहरूमा सयौं यात्रुहरू अलपत्र परेका छन्।

यात्रा सहज बनाउन अन्तर्राष्ट्रिय र स्थानीय निकायहरू समन्वयमा जुटिरहेका छन्। इन्डिगोको चार्टर उडानले संकटमा परेका यात्रुहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार