Logo

 २६ भदौ,कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरीले जेन–जी आन्दोलनरत समुहबाटै प्रधानमन्त्री चयन हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजीहरू राष्ट्र हाँक्न सक्षम रहेको भन्दै आफैँ नेतृत्व लिन आग्रह गरेका छन्।

“तपाईंहरू देश हाँक्न सक्षम हुनुहुन्छ,” चौधरीले लेखेका छन्, “आफैं नेतृत्व लिनुहोस् र प्राप्त उपलब्धिको रक्षा गर्नुहोस्। जेनजीहरू मध्ये एक जना प्रधानमन्त्री भइहाल्नुस्। त्यसलाई संवैधानिक कसरी बनाउने भन्ने काम राष्ट्रपतिको हो।”

चौधरीले अहिलेको आन्दोलनले ल्याएको परिवर्तनलाई “प्रशंसनीय” भनेका छन्। साथै, पुराना कर्मचारीहरू र स्थानीय तहका जनप्रतिनिधिहरूसँग हारगुहार गरेर आन्दोलनका लक्ष्यहरू प्राप्त हुनेमा उनले शंका व्यक्त गरेका छन्।

“तपाईंले तोकेका निहित विषयलाई आधार बनाएर मुलुकको शून्यताको अन्त्य गर्नुहोस्,” उनले भनेका छन्, “धेरै नेताहरूले बुँदात्मक सुझाव दिइरहेका छन्, ती बुँदा आफूले हिजो किन लागू नगरेका?”

रेशम चौधरीले अहिले पुराना नेताहरूलाई सुझाव दिने नैतिक अधिकार नरहेको जिकिर गर्दै उनीहरूको आलोचना गरेका छन्।

यसैबीच, मंगलवार रेशम चौधरीको कैलालीस्थित घरमा आगजनी भएको घटनाको पनि उनले उल्लेख गरेका छन्। तर उनले त्यस घटनालाई व्यक्तिगतभन्दा ठूलो विषय राष्ट्रवाद भएको बताएका छन्।

“घर मेरो पनि जल्यो, घर जलेको कुरा पछि होला,” उनले लेखेका छन्, “पहिला राष्ट्रघातक नहोस्।”

चौधरीको यो अभिव्यक्ति जेनजी आन्दोलनको नेतृत्वको सन्दर्भमा महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार