Logo

२६ भदौ, काठमाडौं । नेपाल बार एसोसिएसनले वर्तमान राजनीतिक संकटको समाधान संविधानभित्रबाटै खोजिनुपर्नेमा जोड दिएको छ।

कानुन व्यवसायीहरूले भर्चुअल माध्यमबाट भएको बैठकमा छलफल गर्दै जेन-जी पुस्ताले व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तनको माग गरेको बताएका छन् ।

कानुन व्यवसायीहरूको सुझाव

कानुन व्यवसायीहरूले संसद अझै पनि चालु रहेकाले त्यसैको जगमा समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । उनीहरूले संवैधानिक संकट आउन नदिन बारले खबरदारी गर्नुपर्नेमा जोड दिएका छन्। कानुन व्यवसायी अशोक पोखरेलले जेन-जी पुस्ताले रुचाएको व्यक्तिलाई संसदभित्रबाटै प्रधानमन्त्री बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।

पूर्व कानुनमन्त्री गोविन्द बन्दीले परिस्थितिको गहिराइमा पुगेर विश्लेषण गर्नुपर्ने बताउँदै अहिलेको संविधानबाटै समाधान खोज्नुपर्ने र अविलम्ब चुनावी सरकार गठन गर्नुपर्ने माग राखेका छन्। कानुन व्यवसायी बाबुराजा जोशीले जेन-जी आन्दोलन संविधानविरोधी नभएको बताउँदै न्यायपालिकाले पनि आफ्नो काम सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

बैठकमा सहभागी अन्य कानुन व्यवसायीहरूले पनि नेपाल बारले भ्रष्टाचार र बेथितिविरुद्धको जेन-जी आन्दोलनको भावनालाई सम्बोधन गर्दै विज्ञप्ति जारी गर्नुपर्ने र आवश्यक परे सडकमा समेत आउन तयार रहेको सन्देश दिनुपर्ने बताएका छन् ।


सम्बन्धित समाचार