२६ भदौ, काठमाडौं । नेपाल पत्रकार महासङ्घले देशमा जारी राजनीतिक संकट र जेन-जी आन्दोलनका मागहरूलाई गम्भीरतापूर्वक लिँदै त्यसको समाधानका लागि राष्ट्रपतिले पहल गर्नुपर्ने धारणा राखेको छ।
महासङ्घकी अध्यक्ष निर्मला शर्माले एक अपिल जारी गर्दै सरकार बनाउने पहल राष्ट्रपतिबाटै हुनुपर्नेमा जोड दिएकी छन् । शर्माले भ्रष्टाचार र बेथितिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दबाउन गरिएको सरकारी दमनको निन्दा गरेकी छन् । आन्दोलनका क्रममा सरकारी, सार्वजनिक र निजी भौतिक संरचनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै महासङ्घले यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म भोग्नुपर्ने चिन्ता प्रकट गरेको छ।
महासङ्घले अहिलेको सङ्क्रमणकालीन अवस्थाको अन्त्यका लागि राष्ट्रपतिले संवैधानिक र राजनीतिक रूपमा निकास निकाल्न पहल गर्नुपर्ने बताएको छ। सबै समस्याको समाधान संविधानले निर्धारण गरेका प्रक्रिया र संस्थाहरूमार्फत नै खोजिनुपर्ने महासङ्घको ठहर छ।
शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भूमिकालाई महासङ्घले सराहनीय भनेको छ। तर, सबै राजनीतिक समस्या समाधानका प्रयासहरू राष्ट्रपति कार्यालयबाटै हुनुपर्ने, जङ्गी अड्डाबाट होइन भन्ने महासङ्घको स्पष्ट अडान छ।
पत्रकार महासङ्घले राष्ट्रपतिलाई वार्ताका लागि बोलाइएको अवस्थामा छिटोभन्दा छिटो नयाँ सरकार गठनका लागि पहल गर्न आग्रह गरेको छ। यसका लागि आफू लगायत अन्य ६ वटा पेसागत सञ्जालहरू पनि तयार रहेको जानकारी दिएको छ।



















