२६ भदौ,काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न भएको राजनीतिक अवस्थाले देशको सीमा नाका र यातायात प्रणाली पूर्ण रूपमा अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प भएको छ। आयात–निर्यात बन्द हुँदा चाँडै आउने दशैं–तिहारमा सामग्री अभावको संकेत देखिएको छ।
भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार हाल भारत र चीन दुवैतर्फका नाकाहरूमा जाँचपास प्रक्रिया रोकिएको छ। “देशभित्र सार्वजनिक र मालवाहक सवारीसाधनको आवागमन बन्द छ,” उनले जानकारी दिए।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालबाट भारततर्फ जाने यात्रुलाई अधिकांश स्थानमा रोकेको छ, जसका कारण अत्यावश्यक वस्तुहरूको आपूर्ति समेत प्रभावित हुन पुगेको छ। चाडबाड नजिकिँदै गर्दा यस्तो अवस्था सिर्जना हुनु उपभोक्ताका लागि चिन्ताजनक बन्न थालेको छ।
चीनतर्फका प्रमुख नाकाहरू पनि प्रभावहीन छन्। रसुवागढी नाकामा अझै मितेरी पुल निर्माण सम्पन्न भइसकेको छैन भने सडक अवरोधका कारण यातायात सञ्चालनमा आएको छैन। तातोपानी नाकामा समेत सडक अवस्था सहज छैन, जसले चीनसँगको व्यापारमा ठूलो असर परेको छ।
भारतसँगको व्यापारका लागि पनि यातायात सञ्चालनमा आएको छैन। राष्ट्रिय यातायात व्यवसायी महासंघ ले यसअघि नै सुरक्षा प्रत्याभूति नभएसम्म मालवाहक र सार्वजनिक यातायात सञ्चालन गर्न नसकिने स्पष्ट पारिसकेको छ।
भदौ महिनालाई दशैं–तिहार लक्षित आयातको मुख्य समय मानिन्छ। तर, सीमाना बन्द, भन्सार प्रक्रियाको अवरोध र यातायात ठप्प भएपछि उपभोग्य वस्तु, लुगाफाटा, खाद्यान्न, इलेक्ट्रोनिक्स लगायतका सामग्रीको अभाव हुने चिन्ता व्यापारीहरूमा समेत बढेको छ।
यदि तत्काल समाधान नभए बजारमा मूल्यवृद्धि र आपूर्ति संकट देखिने सम्भावना प्रबल देखिएको छ।















