२६ भदौ, काठमाडौं । जेन्जी आान्दोलनमा मृत्यु भएकाहरुको पहिचान खुल्न थालेको छ । जेन्जी आन्दोलनमा मृत्यु भई विभिन्न अस्पतालमा रहेका युवाहरुको पहिचान खुल्न थालेको हो ।
भर्खरै मात्रै जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका थप एक जनाको परिचय खुलेको छ। उनी नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीका १९ वर्षीय आयुष थापा हुन् । बानेश्वरमा गोली लागेर घाइते भएपछि उनलाई ट्रमा सेन्टरमा उपचारको लागि लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। आयुष फिनल्यान्ड जाने तयारीका लागि काठमाडौं आएका थिए।
आन्दोलनमा मृतकको संख्या ३४ पुग्यो
यससँगै देशभर भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार, हाल देशका विभिन्न अस्पतालमा ३३१ जना उपचाररत छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
ट्रमा सेन्टरमा मृत्यु भएका एक जना करिब २९ वर्षीय पुरुषको भने अझै सनाखत हुन सकेको छैन।

















