Logo

२६ भदौ, काठमाडौं । हालै जेनजी समूहको आह्वानमा देशभर भएको आन्दोलनका क्रममा भएको ठूलो मानवीय क्षतिप्रति नेपालका विभिन्न प्रमुख युवा संगठनहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले आन्दोलनको मूल भावना, भ्रष्टाचारविरुद्धको मागमा आफूहरूको पूर्ण समर्थन रहेको जनाउँदै हिंसात्मक र विध्वंसात्मक क्रियाकलापको भने कडा निन्दा गरेका छन्।

नेपाली कांग्रेस निकट तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेकपा एमाले निकट युवा संघका अध्यक्ष क्षितिज थेबे, नेकपा माओवादी केन्द्र निकट वाइसिएलका अध्यक्ष पुष्प ओली, नेकपा एकीकृत समाजवादी निकट युवा संघका अध्यक्ष रोशन थापा र राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले प्रस्तुत गरेका प्रमुख मागहरू, जसमा भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिता रहेका छन्, ती सबैमा आफूहरूको स्पष्ट समर्थन रहेको जनाएका छन्।

भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीलाई कानुनी सजाय दिनुपर्छ भन्ने हाम्रो दृढ समर्थन छ, विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि मुलुकका विभिन्न ठाउँमा तोडफोड, आगजनी, हिंसा र लुटपाटजस्ता गतिविधि भइरहेको उल्लेख गर्दै युवा संगठनहरूले यसलाई आन्दोलनको शुद्धतामाथिको प्रहार भएको टिप्पणी गरेका छन्। उनीहरूले यस किसिमका विध्वंसात्मक क्रियाकलापले आन्दोलनको मूल मर्मलाई कमजोर पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

सुरक्षा निकायहरूको भूमिकामाथि सवाल उठाउँदै संगठनहरूले यसबारे गम्भीर समीक्षा हुनुपर्ने माग गरेका छन्। साथै, टोलटोलमा सुरक्षा समिति गठन गरी विध्वंसकारी गतिविधि रोक्न स्थानीय समुदायलाई सक्रिय हुन पनि अपिल गरिएको छ।

आगामी राजनीतिक यात्राबारे स्पष्ट पार्दै संगठनहरूले भनेका छन्, विगतका आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गर्दै मात्र निकास खोजिनुपर्छ। लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरू कमजोर नबनाइने र संविधानभित्रैबाट समाधान निकालिनुपर्छ।

यस विषम परिस्थितिमा सम्पूर्ण युवाहरूलाई संयमित, सजग रहँदै लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षामा दृढ रहन आह्वान गर्दै विज्ञप्तिमा भनिएको छ, हामी विगतका आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गर्दै मात्र निकास खोज्नुपर्ने मान्यतामा दृढ छौं। लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाई संविधानभित्रैबाट समाधान निकाल्नु अपरिहार्य छ।


सम्बन्धित समाचार
भर्खरै