२६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा अहिले लोकतन्त्रलाई समाप्त पार्ने र अस्थिरता निम्त्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै जेन-जी आन्दोलनमा घुसपैठियाहरू सक्रिय भएको आरोप लगाएका छन् । नेपालले भनेका छन्, “जेन-जी पुस्ताको माग लोकतन्त्रको अन्त्य नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने हो । तर घुसपैठियाले लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् ।”
संविधान र संसदको रक्षा गर्नुपर्नेमा जोड
अध्यक्ष नेपालले जेन-जी पुस्ताको माग वर्तमान संविधान खारेजी र संसदको विघटन नभएको स्पष्ट पारेका छन् । उनले लोकतन्त्रविरोधी शक्तिहरूले यही मौकामा संसद विघटन गरेर लोकतन्त्रको अन्त्य गर्न खोजेको बताएका छन् । यदि लोकतन्त्र नै नरहे वाक स्वतन्त्रता र अन्य मौलिक हकहरू खोसिने उनको चिन्ता छ।
माग सम्बोधनका लागि सुझाव
नेपालले जेन-जी पुस्ताले उठाएका मागहरूलाई वर्तमान संविधान र संसदभित्रैबाट सम्बोधन गर्न सकिने सुझाव दिएका छन् । उनले भ्रष्टाचारमा संलग्न नेताहरूलाई कारबाही गर्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्न सकिने र संविधान संशोधन गरेर ताजा जनादेशका लागि चुनावमा जान सकिने बताएका छन् ।

















