२६ भदौ, काठमाडौं। गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समितिहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै निर्विघ्न रूपमा सेवा प्रवाह गर्न सक्ने वातावरण बनाउन राष्ट्रपति तथा सुरक्षा निकायसमक्ष आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “स्थानीय सरकारका प्रशासनिक भवन र सवारीसाधनमा आगजनी गर्ने, नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति तथा उद्योग–व्यवसायमा क्षति पुर्याउने, साथै जनप्रतिनिधिहरूलाई राजीनामा दिन ज्ञात वा अज्ञात व्यक्ति वा समूहबाट धम्की दिने घटनाहरू भइरहेका छन्।
त्यसैले, स्थानीय सरकारका सम्पत्ति तथा अभिलेखहरूको सुरक्षा गर्न, सबै नागरिक तथा जनप्रतिनिधिहरूको ज्यान, निजी सम्पत्ति र उद्योग–व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाई निर्विघ्न रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन सम्माननीय राष्ट्रपतिज्यू र सुरक्षा निकायहरू समक्ष हार्दिक अनुरोध गर्दछौं।”
साथै, सार्वजनिक सम्पत्तिको संरक्षण र संवर्द्धन गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह नियमित गर्न स्थानीय सरकारका सबै जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूमा पनि आह्वान गरिएको छ।
विज्ञप्तिमा लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै हुने उल्लेख गर्दै, मुलुकमा उत्पन्न राजनीतिक अन्योलता अन्त्य गरी नागरिकको शान्तिपूर्ण जीवनयापनको अधिकारको रक्षा गर्न तथा नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको संरक्षणका लागि संविधानसम्मत र विधिप्रणालीका आधारमा मात्र मुलुकलाई निकास दिन राष्ट्रपति समक्ष आग्रह गरिएको छ ।















