Logo

२६ भदौ, काठमाडौं । भदौ २३ गते जेन–जी युवाहरूको प्रदर्शनमा भएको प्रहरी दमनमा ३४ जना युवाको ज्यान गएको घटनाप्रति नागरिक समाजका व्यक्तिहरूले गहिरो दुःख प्रकट गर्दै निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन्। उनीहरूले पीडित परिवारलाई राहत र घाइतेहरूको उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।

अपिलमार्फत उनीहरूले सो दिनकै घटनापछि सुरु भएको अराजकताले मुलुकलाई अकल्पनीय क्षति पुर्‍याएको उल्लेख गर्दै जिम्मेवार जो कोहीलाई कानुनको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरूमाथि भएको आक्रमणको पनि ती नागरिकले घोर भत्सर्ना गरेका छन्।

“राज्यका भौतिक संरचना र आम नागरिकको जिउधन सुरक्षित गर्न हाल नेपाली सेनाको नेतृत्वमा परिचालित सुरक्षा संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्छ,” अपिलमा भनिएको छ।

यस्तै, आन्दोलनपश्चात देखा परेको राजनीतिक अन्यौल चिर्न राष्ट्रपतिको नेतृत्वमा भइरहेको संवादमा सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गर्न जोड दिइएको छ। लोकतान्त्रिक मूल्य–मान्यता र संविधानअनुरूप मात्र मुलुकलाई स्थायीत्व र सुव्यवस्थातर्फ लैजान सकिने भन्दै सचेत रहन आम नागरिकलाई आह्वान गरिएको छ।

अपिलकर्ताहरूमा शुशिल प्याकुरेल, नितु पोखरेल, भक्त विश्वकर्मा, शोभाकर बुढाथोकी, डा. कुन्दन अर्याल, डा। रघु मैनाली, डा. गोपालकृष्ण सिवाकोटी, गोविन्द देवकोटा, कृष्ण गौतम, इन्द्र अर्याल, भगवती अधिकारी, देवीदत्त आर्चाय, धनबहादुर मिजार र सोम निरौला रहेका छन्।


सम्बन्धित समाचार
भर्खरै