Logo

२७ भदौ, काठमाडौँ । जेन-जी आन्दोलनपछिको सुरक्षास्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिएको छ । सेनाले जनधनको सुरक्षाका लागि यस उपायलाई आवश्यक रहेको जनाएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु रहनेछ । अत्यावश्यक कामका लागि भने बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको छ ।

निषेधाज्ञा तथा कर्फ्यु अवधिमा पनि एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी तथा औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालनमा रोक लगाइने छैन । त्यस्तै, सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक संस्थानका कर्मचारीले सक्कल परिचयपत्र देखाएर आवतजावत गर्न पाउनेछन् ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले टिकट देखाएर विमानस्थलसम्म पुग्न सक्नेछन् । सहजताका लागि यात्रु तथा सर्वसाधारणलाई नजिकै रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ। उपत्यका बाहिर भने निषेधाज्ञा वा कर्फ्यु लगाउने-नलगाउने निर्णय सम्बन्धित जिल्ला सुरक्षा समितिबाट हुने निर्देशनालयले जनाएको छ ।

सेनाले स्पष्ट पारेको छ कि अत्यावश्यक आवतजावतका लागि छुट्याइएको समयमा समेत जुलुस, धर्ना वा प्रदर्शनजस्ता गतिविधि गर्न पूर्ण प्रतिबन्ध रहनेछ ।


सम्बन्धित समाचार
भर्खरै