२७ भदौ, रौतहट । जिल्लामा सुरक्षा संवेदनशीलता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले शुक्रबार सूचना जारी गर्दै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू हुने र त्यसपछि साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी हुने जानकारी दिएका छन्।
प्रशासनले अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ बजेदेखि ७ बजेसम्मको दुई घण्टा समय छुट्याएको छ।
निषेधाज्ञा तथा कर्फ्युको अवधिमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने, जुलुस, सभा, प्रदर्शन, बैठक आयोजना नगर्न चेतावनी दिइएको छ। त्यस्तै पोष्टर–पर्चा टाँस्ने वा लेख्ने, शान्ति–सुरक्षा र सार्वजनिक व्यवस्थामा असर पार्ने कुनै पनि गतिविधि पूर्णतः निषेध गरिएको प्रशासनले स्पष्ट पारेको छ।
स्थानीय प्रशासनले जनतालाई संयमित रहन र शान्ति-सुरक्षा कायम राख्न सहयोग गर्न आह्वान गरेको छ।















