२७ भदौ, काठमाडौं । नेपाल बार एसोसिएसनले संविधानको रक्षा र राजनीतिक निकासका लागि आज देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ।
देशमा भइरहेका पछिल्ला घटनाक्रम र जेन जी आन्दोलनको सन्दर्भमा बारले यस्तो निर्णय गरेको हो । बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार संविधानको दायराबाटै मुलुकको राजनीतिक निकास खोजिनुपर्छ, अहिलेको संविधान संरक्षण हुनुपर्छ भन्ने हाम्रो माग हो ।
बारको आकस्मिक बैठकले दुई चरणमा प्रदर्शन गर्ने निर्णय गरेको छ । दिउँसो १ बजे देशभरका सबै बार इकाइहरूमा प्रदर्शन गर्ने र साँझ ५ बजे बार केन्द्रीय कार्यालय रामशाहपथबाट कानुन व्यवसायीहरूले संविधान हातमा लिएर प्रदर्शन गर्नेछन् ।
कर्फ्युको समय सकिएपछि प्रदर्शन गर्ने योजना बनाइएको छ। बारले बिहीबार मात्रै विज्ञप्ति जारी गरी अहिलेको संविधानअनुसार नै राष्ट्रिय सरकार गठन गर्न सकिने सुझाव दिएको थियो । आन्दोलनकारीले पनि संविधान वा व्यवस्था परिवर्तनको माग नगरेकाले अहिलेकै संवैधानिक प्रक्रियाबाट निकास खोज्नुपर्ने बारको अडान छ।

















