२७ भदौ,वीरगञ्ज । काठमाडौँ उपत्यकासहित देशभर आज दिउँसो नेपाली सेनाले लगाएको क–फ्र्यू हटाएपछि जनजीवन सामान्य बन्दै गएको छ। बिहानैदेखि सडकमा चहलपहल बढेको छ र मानिसहरू आफ्ना दैनिक काममा फर्किएका छन्।
सेनाले बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्मको समय अत्यावश्यक कामका लागि छुट्याएको थियो। यस अवधिमा मानिसहरूले दैनिक उपभोग्य वस्तु किनमेल गर्ने, धार्मिक तथा सांस्कृतिक परम्पराका काम गर्ने र कर्मचारीहरूलाई कार्यस्थलमा जाने अनुमति दिइएको थियो। यद्यपि, जुलुस, धर्ना र प्रदर्शनलाई भने पूर्ण रूपमा निषेध गरिएको छ।
आज दिनभर क–फ्र्यू नलागे पनि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। पुनः बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म क–फ्र्यू लाग्नेछ।
यसैबीच, सैनिक मुख्यालयले बिहीबार साँझदेखि नै सुरक्षा व्यवस्था कडा पारेको थियो। सैनिक मुख्यालयले उपत्यका पृतना तथा सैनिक प्रहरीलाई चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको थियो। अत्यावश्यक सेवाको नाममा अनावश्यक मानिसहरूको घुसपैठ हुन सक्ने सम्भावनालाई गम्भीरतापूर्वक लिन पनि भनिएको छ।
काठमाडौँ उपत्यकाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगन्ज लगायत देशका प्रमुख शहर र नाकाहरूमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित अप्रिय घटना रोक्नका लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरू सतर्क अवस्थामा छन्। उपत्यकामा लगाइएको क–फ्र्यूको असर देशव्यापी रूपमा नपरोस् भन्नका लागि पनि आवश्यक तयारी गरिएको छ।















