२७ भदौ, काठमाडौं । मुलुकमा नयाँ सरकार गठनको प्रक्रियाबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो र चिन्ता व्यक्त गरेको छ।
आयोगले एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको आधारमा नै निकास खोज्न आग्रह गरेको हो। आयोगका पदाधिकारीहरू राष्ट्रपति रामचन्द्र पौडेलसँग निरन्तर सम्पर्कमा रहेको र सोही क्रममा यस्तो धारणा राखिएको विज्ञप्तिमा उल्लेख छ। जेन-जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको अत्यधिक बल प्रयोगका कारण हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ। यसैबीच, आन्दोलनकारीले सिंहदरबार, सर्वोच्च अदालत र संघीय संसदजस्ता महत्त्वपूर्ण सरकारी भवनमा आगजनी र तोडफोड गरेका थिए।
यी घटनाहरूको सुक्ष्म अनुसन्धान गर्न नसकेको भन्दै आयोगको भूमिकामाथि पनि आलोचना भइरहेको छ। आयोगले भने राष्ट्रपतिको पहलकदमीलाई समर्थन गर्दै संवैधानिक प्रक्रियाबाट नै समस्या समाधान हुनुपर्नेमा जोड दिएको छ।

















