२७ भदौ,काठमाडौं । भर्खरै राष्ट्रपति कार्यालय शीतल निवासमा एक महत्वपूर्ण उच्चस्तरीय बैठक सुरु भएको छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजी (जननायक जनआन्दोलन समूह) बाट प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सहभागी छन्।
जेनजी समूहले संसद विघटनको मागबाट पछि नहटेपछि उत्पन्न संवैधानिक अन्योल समाधान गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीमा सुशीला कार्की, तर कसरी?
बिहीबार मध्यरातसम्म चलेको छलफलमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति जुटिसकेको बताइएको छ। तर, संविधानको कुन धारामा टेकेर उनलाई प्रधानमन्त्री घोषणा गर्ने भन्ने विषयमा अझै अन्योल छ। संसद नफाली प्रधानमन्त्री बनाउने हो भने त्यसको संवैधानिक वैधता चुनौतीपूर्ण हुने देखिएको छ। अर्कोतर्फ संसद विघटनको लागि पनि ठोस कानूनी आधारको अभावले प्रक्रिया रोकिएको छ।
संसद विघटनमा विवाद
जेनजी समूहका सबै घटकहरूले संसद विघटनलाई आफ्नो “बटमलाइन” बनाएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र जेनजी नेतृत्वदायी भूमिकामा छन्। तर, राष्ट्रपति रामचन्द्र पौडेल संसद विघटनको विषयमा सहमत नभएकाले हाल प्रक्रिया त्यहीँ अड्किएको स्रोतहरूको दाबी छ।
जेनजी समूहले कानूनी पक्ष सुदृढ गर्न अधिवक्ता ओमप्रकाश अर्याललाई अगाडि सारेको छ। संसद विघटनको संवैधानिक वैधता सुनिश्चित भएपछि मात्रै भौतिक उपस्थितिबीच औपचारिक सहमति जुट्ने अपेक्षा गरिएको छ।
स्रोतका अनुसार राष्ट्रपति पौडेल र प्रधान सेनापति सिग्देलले “धोका नहुने“ र “जेनजी समूहका माग पूरा हुने“ आश्वासन दिएका छन्। यसपछि जेनजीका सबै समूह सहमतितर्फ उन्मुख भएका छन्।















