२७ भदौ, काठमाडौं । जेन–जी आन्दोलनको क्रममा मुलुकभरका १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ वटा भन्सार कार्यालय पूर्णरूपमा जलेर नष्ट भएका छन्। अर्थ मन्त्रालय अन्तर्गतका संरचनामा भएको यो क्षति अत्यन्तै गम्भीर भएको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार, आन्तरिक राजस्व कार्यालयमध्ये दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखराका कार्यालयहरू पूर्ण रूपमा ध्वस्त भएका हुन्। यस्तै, कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका कार्यालयमा आंशिक क्षति पुगेको छ।
भन्सार कार्यालयतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्णरूपमा जलेका छन् भने विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडीका कार्यालयमा आंशिक क्षति पुगेको बताइएको छ।
राजस्व संकलन अनलाइनमार्फत जारी
अत्यावश्यक आयातमा बाधा नपरोस् भन्ने उद्देश्यले भन्सार कार्यालयहरूले अनलाइन प्रणालीमार्फत जाँचपासको काम सुरु गरिसकेका छन्। आन्तरिक राजस्व कार्यालयहरूबाट भौतिक रूपमा राजस्व संकलन रोकिए पनि आईएसपी प्रणाली सुरक्षित भएकाले अनलाइन मार्फत कर संकलन कार्य सुचारु गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
भन्सारको अनलाइन प्रणाली आशिकुडा (ASYCUDA) र आन्तरिक राजस्वको प्रणाली आईएसपी (ISP) सुरक्षित रहेको हुँदा कर प्रणालीलाई पूर्णरूपमा पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
अर्थ मन्त्रालयमै आगलागी, बजेट महाशाखा प्रभावित
जेन–जी आन्दोलनको दौरान अर्थ मन्त्रालयको मुख्य भवन सुरक्षित भए पनि बाहिर रहेको बजेट महाशाखाको एक सानो भवन पूर्णरूपमा जलेको प्रवक्ता पाण्डेले जानकारी दिए। साथै, मन्त्रालय परिसरमा रहेका झन्डै १५ वटा गाडी र ठूलो संख्यामा मोटरसाइकल आगलागीमा परेर नष्ट भएका छन्।
नयाँ सरकारसँगै मन्त्रालय सञ्चालन तर्फ तयारी
प्रवक्ता पाण्डेका अनुसार, नयाँ सरकार गठनसँगै अर्थ मन्त्रालयका सबै सेवा पुनः सुचारु गर्न आवश्यक पूर्वाधार र प्रणालीगत तयारी थालिएको छ। नागरिक सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक माध्यमबाट सेवा सञ्चालनका लागि व्यापक समन्वय भइरहेको छ।

















