२७ भदौ, काठमाडौं । जेन-जी आन्दोलनले मुलुकको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याएको छ।
अर्थ मन्त्रालयका अनुसार आन्दोलनकारीको आक्रमणबाट १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच वटा भन्सार कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
क्षतिको विस्तृत विवरण
पूर्णरूपमा ध्वस्तस् दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखराका आन्तरिक राजस्व कार्यालयहरू। भन्सार कार्यालय मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरमा पूर्णरूपमा नष्ट भएका छन् । कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका आन्तरिक राजस्व कार्यालयहरू, साथै विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडीका भन्सार कार्यालयहरूमा आंशिक क्षति पुगेको छ।
यसका अतिरिक्त, अर्थ मन्त्रालय परिसरमा रहेको बजेट महाशाखाको भवन र १५ वटा गाडीसहित ठूलो संख्यामा मोटरसाइकल पनि जलेर नष्ट भएका छन् ।
सेवा प्रवाहमा निरन्तरता
राजस्व र भन्सार कार्यालयहरूमा भौतिक क्षति भए पनि अर्थ मन्त्रालयले अनलाइन प्रणाली सुरक्षित रहेकाले सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ। प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार भन्सारको ‘आशिकुडा’ र राजस्वको ‘आईएसपी’ प्रणाली सुरक्षित रहेकाले कर संकलन सुचारु गरिएको छ।
नयाँ सरकार गठन भएलगत्तै सबै प्रशासनिक कामहरू सुचारु गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभएको छ।

















