Logo

२७ भदौ, काठमाडौं । जेन-जी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले दुईवटा मुख्य सर्त राखेकी छिन् ।

आन्दोलनमा भएको दमनको छानबिन र संसदको विघटन। यी सर्त पूरा नभएसम्म आफू प्रधानमन्त्रीको जिम्मेवारी नलिने उनको अडान छ।

गएराति शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक राज सिग्देलसँगको छलफलमा यही विषयमा कुरा नमिलेपछि उनी बाहिरिएकी थिइन्। आन्दोलनरत पक्षलाई समेत मनाउन सकिए मात्र जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै उनले अब वार्ताको नाममा शीतलनिवास नबोलाउन पनि भनेकी छन् ।

संसद कायमै रहे असफल हुने चिन्ता

कार्कीनजिकको स्रोतका अनुसार, संसद कायमै रहेमा पुराना दलहरूले अन्तरिम सरकारलाई काम गर्न नदिने र चुनाव गराउन नदिई असफल बनाउने जोखिम छ। उहाँले विगतका छानबिनहरूमा कारबाही नभएको उदाहरण दिँदै यसपटक पनि त्यही प्रवृत्ति दोहोरिने हो भने विद्रोहको कुनै अर्थ नहुने तर्क राखेकी छन्।

म मेरो इच्छाले प्रधानमन्त्री बन्न लागेको होइन

सुशीला कार्कीले आफू वार्ता गर्ने पक्ष नरहेको र सबै छलफल जेन-जी समूहसँगै गर्नुपर्ने अडान लिएकी छन् । उनले म मेरो इच्छाले प्रधानमन्त्री बन्न लागेको होइन भन्दै जेन-जीका मूल मुद्दाभन्दा बाहिर गएर कुनै पनि निर्णय मान्य नहुने स्पष्ट पारेकी छन् ।

कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्ताव जेन-जी समूह र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह लगायतले गरेका छन् । तर, शीतलनिवासले प्रक्रिया नमिलेको भन्दै समय गुजारी रहेको आरोप कार्की निकट स्रोतको छ ।

हाल देशभरको सुरक्षाको जिम्मा सेनाले सम्हालिरहेको छ भने प्रधानसेनापति सिग्देलले वार्तामा सहजीकरण गरिरहेका छन् । आन्दोलनमा हालसम्म ५१ जनाको मृत्यु भएको छ भने २९९ जना अझै अस्पतालमा उपचाररत छन् ।


सम्बन्धित समाचार