२७ भदौ,काठमाडौं । नख्खु कारागार प्रशासनले जेनजी आन्दोलनका क्रममा जेलबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हकमा अहिले कुनै निर्णय भइनसकेको जनाएको छ।
नख्खु कारागारका प्रशासक सत्यराज जोशीले आफूहरूले अहिले लामिछानेको विषयमा के गर्ने भन्नेबारे कुनै निर्णय नगरेको बताएका छन्। उनले भने, “उहाँको बारेमा के गर्ने निर्णय भइसकेको छैन। अहिले म कारागारको फिल्ड भिजिटमा छु, यो विषयमा पछि बोल्छु।“
कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदीबन्दीहरूलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपील गरेको छ। यद्यपि, उक्त अपील लामिछानेको हकमा लागू हुन्छ कि हुँदैन भन्ने विषयमा धेरैले सोधपुछ गरिरहेको जोशीले बताएका छन्। उनले लामिछानेलाई कारागारले नै विशेष परिस्थिति भन्दै थुनामुक्त गरेको पनि जानकारी दिएका छन्।
प्रशासनले तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानुनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्ने चेतावनी समेत दिएको छ। सो घटनामा लामिछानेसहित १४ सय कैदीबन्दी बाहिरिएका थिए। तीमध्ये पूर्वराज्यमन्त्री सञ्जय टकलासहित केहीलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरिसकेको छ।
हाल कारागारमा मुचुल्का उठाउने काम भइरहेको र यसपछि मात्र थप विवरण आउने जोशीले जानकारी दिए।
यो पनि पढ्नुहोस :-
नख्खु कारागारबाट भागेका कैदीबन्दीलाई आत्मसमर्पण गर्न प्रशासनको आग्रह















