२७ भदौ,वीरगञ्ज । देशभरि फैलिएको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक शून्यता र सुरक्षा चुनौतीका बीच नेपाल–भारत प्रमुख नाका वीरगञ्ज–रक्सौल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सोमबारको आन्दोलनमा भएको दमनपछि मंगलबार प्रदर्शन झन् उग्र बनेको थियो। प्रदर्शनकारीहरूले संसद भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतसहित विभिन्न दलका नेताहरूका निवास र पार्टी कार्यालयहरूमा आक्रमण तथा आगजनी गरेका थिए।
यस घटनाक्रमपछि मंगलबार राति १० बजेदेखि नेपाली सेनाले देशको सुरक्षा व्यवस्था पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ। देशभर निषेधाज्ञा र कफ्र्यू लागू गरिएको छ।
नाकामा सशस्त्र सतर्कता, परिचयपत्र देखाएर मात्र पार गर्ने अनुमति
यद्यपि, वीरगञ्ज–रक्सौल नाका पूर्ण रूपमा बन्द गरिएको छैन। नेपाल फर्किन चाहने नेपाली नागरिक र भारत फर्किन चाहने भारतीय नागरिकलाई परिचयपत्र देखाएर सीमित रूपमा आवत–जावतको अनुमति दिइएको छ।
सडकमा सामान्य चहलपहल देखिए पनि सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ नाकाका प्रत्येक बिन्दुमा तैनाथ छन्। सादा पोशाकका सुराकर्मीहरू पनि सीमामा परिचालित गरिएको बताइएको छ।स्थानीय प्रशासनका अनुसार, सिर्फ आपतकालीन वा अत्यावश्यक कारणमा सीमावर्ती आवत–जावतलाई खुला गरिएको हो। बाक्लो जाँचबुझपछि मात्र नागरिकलाई सीमा पार गर्न दिइँदैछ।
सीमा क्षेत्रमा रहेका नागरिकलाई संयमता अपनाउन, अफवाहमा नलाग्न र सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न आग्रह गरिएको छ।















