२७ भदौ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा भोलिदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।
उनको तीन वर्षे कार्यकाल पूरा भए पनि मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण उनको उत्तराधिकारीको नियुक्ति अन्योलमा परेको छ ।
जेन-जी आन्दोलनपछि सत्ता परिवर्तनको चर्चा चुलिएको र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको तयारी भइरहेकाले नयाँ गुप्तचर प्रमुखको नियुक्तिमा ढिलाइ भएको हो। गुप्तचर प्रमुखको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने कानुनी प्रावधान छ।
नयाँ प्रमुखका लागि दौडमा को-को ?
हुतराज थापाको अवकाशपछि अब उनको ब्याचका दुई जना अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरू ओम प्रकाश जोशी र टेकेन्द्र कार्की प्रमुखको दौडमा छन्। ओम प्रकाश जोशी हाल प्रशासन विभागको प्रमुख छन् । तीन वर्षअघि थापासँगै प्रतिस्पर्धामा रहेका उनी यसपटक प्रमुख बन्ने प्रबल दाबेदार मानिएका छन् । यस्तै, टेकेन्द्र कार्कले हाल प्रदेश समन्वय विभाग र इन्टेलिजेन्सको नेतृत्व गरिरहेका छन् ।
उनी पनि प्रमुखको दौडमा छन्। नेपालमा २ हजार २६५ कर्मचारी र एजेन्ट भएको राष्ट्रिय अनुसन्धान विभागको जिम्मेवारी मुलुकको सुरक्षा र सूचना सङ्कलन गर्नु रहेको छ। नयाँ सरकार गठन नभएसम्म गुप्तचर प्रमुखको नियुक्ति नहुने सम्भावना रहेको देखिन्छ।

















