२७ भदौ, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको धरानस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा तीन जनाको शव फेला परेको छ। जलेर पहिचान गर्न नसकिने अवस्थामा ती शव भेटिएको प्रहरीले जनाएको छ।
इन्स्पेक्टर रुद्र खड्काका अनुसार, भित्र तीनवटा शव जलेको अवस्थामा भेटिएका हुन्। मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र कम्तीमा तीन जना फसेको हल्ला फैलिएको थियो।
सुपरमार्केटमा लागेको आगो हिजो साँझ मात्र निभेपछि आज भग्नावशेषमा शवहरू फेला परेका हुन्। यस घटनाले आन्दोलनका क्रममा भएको मानवीय क्षतिको गम्भीरता थपेको छ।

















