२७ भदौ,काठमाडौं । जेनजी आन्दोलनले देशभरका कारागार र बाल सुधारगृहबाट ठूलो संख्यामा कैदीबन्दीहरू फरार भएपछि आम नागरिकमा त्रास बढेको छ। कारागार सुरक्षाकर्मीको कमजोर उपस्थितिको फाइदा उठाउँदै कैदी तथा बाल सुधारगृहबाट बालबिजुवाहरू गरी ११ हजारभन्दा बढी व्यक्तिहरू फरार भएका हुन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांकअनुसार, देशभरका कारागार र बाल सुधारगृहबाट भागेका कैदी तथा बालबिजुवाहरूको संख्या १३ हजार ११४ पुगेको छ। यसमध्ये हालसम्म १ हजार २९८ जना नियन्त्रणमा आइसकेका छन् भने ११ हजार ८६८ जना अझै सम्पर्कविहीन छन्।
यसै क्रममा भएको झडपमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
नख्खु कारागारबाट ठूलो संख्यामा कैदी फरार
भदौ २४ गते सुरक्षाको कारण देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर पठाइएपछि सोही कारागारबाट १ हजार २५६ जना कैदी फरार भएका थिए। यस घटनाले देशभरका जेलहरूमा कैदीहरू आन्दोलित भएका थिए। आन्दोलनका कारण प्रहरी बाहिरी सुरक्षामा खटिएको र केही जेलमा तोडफोड भएपछि भित्री सुरक्षा कमजोर भएको थियो।
नेपालमा रहेका ७७ जिल्लामध्ये हाल ७२ जिल्लामा ७५ वटा कारागार कार्यालयहरू छन्। यद्यपि, धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन। कारागार व्यवस्थापन गृहभन्दा सुधारगृहको रूपमा हुनुपर्ने सरकारी नीति भए पनि देशका अधिकांश कारागारमा क्षमताभन्दा दोब्बर कैदी राखिएको छ, जसले गर्दा उनीहरू आधारभूत मानव अधिकारबाट वञ्चित छन्।


















