Logo

२७ भदौ,काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव परीक्षण (पोस्टमार्टम) त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरु भएको छ। अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, प्रहरीबाट आवश्यक पत्र प्राप्त गर्न ढिलाइ भएकाले पोस्टमार्टम प्रक्रियामा केही समय लागेको थियो।

हाल शिक्षण अस्पतालमा आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शव राखिएको छ, जसमा ३४ पुरुष र २ महिला छन्। यीमध्ये तीन जना प्रहरीको शव पनि रहेको डा. चौधरीले बताएका छन्।

पोस्टमार्टममा विशेष सावधानी
डा. चौधरीका अनुसार, यी घटनालाई ’गैरन्यायिक हत्या’ को श्रेणीमा राखिएको र मानवअधिकार निकाय तथा अन्तर्राष्ट्रिय प्रोटोकलको पालना गर्नुपर्ने भएकाले पोस्टमार्टम प्रक्रियालाई सूक्ष्म ढंगले अगाडि बढाइएको छ। सबै कानुनी प्रक्रिया पूरा भएपछि मात्र शवहरू सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ।

शिक्षण अस्पतालमा हालसम्म ९ जना मृतकका परिवारले पोस्टमार्टमका लागि निवेदन दिएका छन्, जसमध्ये तीन जनाको शव परीक्षण गरी परिवारलाई बुझाइसकिएको छ। शवहरू भदौ २३ गतेदेखि अस्पतालमा ल्याउन सुरु गरिएको थियो।

शव पहिचानका विधि
डा. चौधरीले शव पहिचानका लागि विभिन्न विधि अपनाइएको जानकारी दिए। शव सामान्य अवस्थामा भएमा आफन्तले भिजुअल रूपमा सनाखत गर्न सक्नेछन्। यदि शव चिन्न नसकिने अवस्थामा छ भने फिंगरप्रिन्ट वा दाँत परीक्षण जस्ता विधि प्रयोग गरिनेछ। जलेर चिन्न नसकिने शवको हकमा सुरुमा दाँत र फिंगरप्रिन्टबाट पहिचान गरिने र त्यसबाट पनि सम्भव नभए मात्र डीएनए परीक्षण गरिने उनले बताए। यस घटनामा भने डीएनए परीक्षणको आवश्यकता नपर्ने उनको भनाइ छ।

हालसम्म जेनजी आन्दोलनमा प्रदर्शनकारी र प्रहरीसहित कुल ५१ जनाको मृत्यु भएको छ। पाटन अस्पतालमा पनि केही शवको परीक्षण भइरहेको जनाइएको छ।


सम्बन्धित समाचार
भर्खरै