२७ भदौ,काठमाडौं ।शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले देशमा उत्पन्न अस्थिरता र अन्योलतापछि संवैधानिक प्रक्रियाबाटै राजनीतिक निकास खोज्न आग्रह गर्दै प्रदर्शन गरेको छ।
शुक्रबार नेपाल बार एसोसिएसन परिसरमा भेला भएका पापडका सदस्यहरूले “संविधानको रक्षा गरौं, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गरौं“, “संविधान बचाऔं, देश जोगाऔं“ भन्ने प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
पापडले जेनजी आन्दोलनपछिको परिस्थितिमा देश राज्यविहीनतातर्फ उन्मुख देखिएको भन्दै संविधानमै आधारित रहेर समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
सञ्जालले संवैधानिक व्यवस्था, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आक्रमण हुने खालका असंवैधानिक अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। हाल देशभर चलिरहेको संसद् राख्ने वा विघटन गर्ने बहससँगै पापडले यस्तो प्रदर्शन गर्दै लोकतान्त्रिक संस्था र संविधानमाथिको विश्वास जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिएको छ।















