Logo

२७ भदौ, काठमाडौं । देशमा राजनीतिक गतिरोध बढ्दै जाँदा अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति भएको छ।

जेनजी अभियन्ताहरूको चर्को दबाब र राजनीतिक दलहरूको सहमतिपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति ९ बजे कार्कीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले राजनीतिक वृत्तमा ठूलो हलचल ल्याइदिएको थियो। आन्दोलनको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । त्यसपछि नयाँ सरकार गठनका लागि भएका छलफलले आज मूर्तरूप पाएको हो ।

यस विषयमा सहमति जुटाउन शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिसँग छलफल गरेका थिए । छलफलमा संसद् विघटनको विषयमा के गर्ने भन्नेमा केही मतभेद रहे पनि कार्कीलाई नेतृत्व दिने विषयमा भने सर्वसम्मत निर्णय भएको बताइएको छ।

सुशीला कार्कीको नेतृत्वमा बन्ने यस अन्तरिम सरकारले मुलुकलाई नयाँ निर्वाचनको दिशामा अगाडि बढाउने विश्वास लिइएको छ। यसलाई राजनीतिक अस्थिरताबाट देशलाई निकास दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार