२८ भदौ,काठमाडौं । केही दिनदेखि अवरुद्ध सार्वजनिक यातायात शनिबारदेखि देशैभर सञ्चालनमा आएको छ। जेनजी आन्दोलनको कारण मंगलबारदेखि उपत्यकाभित्र पूर्णरूपमा बन्द भएको सार्वजनिक यातायात अब फेरि सञ्चालनमा आएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले देशको अवस्था क्रमशः सामान्य बन्दै गएको भन्दै स्थानीय तहसँगको समन्वयमा यातायात सेवा पुनः सञ्चालन गरिएको जानकारी दिएका छन्।
“केन्द्रबाट अहिले कुनै निर्णय लिन सक्ने अवस्था छैन,” उनले रातोपाटीसँगको कुराकानीमा भने, “हामीले सबै व्यवसायीलाई आफ्नो स्थानीय प्रशासनसँग समन्वय गरेर यातायात चलाउन आग्रह गरेका छौं।”
सिटौलाका अनुसार, आज शनिबारदेखि नै देशभर लामो र छोटो दुरीका सार्वजनिक सवारीसाधनहरू सञ्चालनमा आएका छन्।
यसअघि आन्दोलनको कारण यात्रुहरू यातायात अभावमा सास्ती भोगिरहेका थिए। अब यातायात सञ्चालनमा आएपछि जनजीवन सामान्य अवस्थामा फर्कने अपेक्षा गरिएको छ।















