२८ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालय भवनमा भएको आगजनी र त्यसपछि भएको लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–५, बडसौराका २२ वर्षीय सुधीर पटेल रहेका छन् ।
नगर प्रहरी प्रमुख हरि भुसालको नेतृत्वमा खटिएको टोलीले पटेललाई चोरीका विभिन्न सामानसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, आगजनीपछि उत्पन्न अराजक परिस्थितिको फाइदा उठाएर केही व्यक्तिले कार्यालयभित्रका महत्त्वपूर्ण सामानहरू लुटेका थिए ।
बरामद भएका सामान
प्रहरीले पटेलको साथबाट विभिन्न कम्प्युटर तथा विद्युतीय उपकरणहरू बरामद गरेको छ, जसमा ९ थान हार्ड डिस्क, ३ थान क्यामेरा, ९ थान डेस्कटप मनिटर, १ थान सिपियू, तथा अन्य केबल र उपकरणहरू समावेश छन् ।
पक्राउ परेका पटेललाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको छ । प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताएको छ ।















