२८ भदौ,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते राजधानीसहित देशका विभिन्न भागमा भएका जेन्जी प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीलाई तुरुन्तै कारागार फिर्ता हुन र प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका सुरक्षा निकायका हतियारहरू फिर्ता गर्न आग्रह गरेको छ।
आयोगका अनुसार, प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूले समाजमा त्रास र असुरक्षाको वातावरण सिर्जना गरेका छन्। बालसुधारगृहमा रहेका व्यक्तिहरू समेत भागेको खबर आयोगमा प्राप्त भएको छ। यसले सुरक्षा जोखिम थप बढाएको भन्दै आयोगले यस विषयलाई गम्भीरतापूर्वक अनुगमन गरिरहेको जनाएको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कारागारबाट भागेका कैदीबन्दीहरूले विशेषगरी महिला, बालबालिका, निर्णयकर्ता, अपराध पीडित र तिनका परिवारमा मनोवैज्ञानिक असर पु¥याएको पाइएको छ। तर धेरै कैदीबन्दी अझै पनि कारागार प्रशासनसँग सम्पर्कमा छैनन्। सुरक्षा निकायहरूले उनीहरूको खोजी कार्य तीव्रता दिनुपर्ने देखिएको छ।”
आयोगले कारागार फिर्ता भई कानुनी शासनको सम्मान गर्नु सबै कैदीबन्दीहरूको दायित्व भएको पनि उल्लेख गरेको छ।
साथै, प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका नेपाल प्रहरीले प्रयोग गर्ने हतियार र पोशाक अझै फिर्ता नभएको र त्यसका दुरुपयोगबाट हिंसात्मक गतिविधि फैलिन सक्ने देखिएको आयोगले चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायका हतियार र पोशाकको दुरुपयोग गर्नु गैरकानुनी मात्र होइन, त्यसलाई रोक्न सहयोग गर्नु सबै जिम्मेवार नागरिकको कर्तव्य पनि हो।”
















